कमिसनको जालोमा परेर एनसेल कौडीको मोलमा बेचेको एमाले अध्यक्ष ओलीको आरोप

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल काण्ड सरकार र राजनीतिक संलग्नता भएको आरोप लगाउनुभएको छ । तेह्रथुमको वसन्तपुरमा आयोजित आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले प्रचण्ड सरकार बनेपछि देशमा सुनदेखि एनसेलसम्मको काण्ड भइरहेको बताउनुभयो ।

उहाँले एनसेल काण्डमा सरकारको संलग्नता रहेको बताउनुभयो । चार वर्षपछि एनसेल आफै नेपालको नाममा आउँने भए पनि सरकारले जालझेल गरेर अर्को कम्पनीमा कौडीको मोलमा नामसारी गरेर, कमिसन तन्त्रको जालोमा पारेर देशलाई खर्बौँको नोक्सानी पुर्याइएको उहाँले बताउनभयो । यस्तो अवस्थाबाट देशलाई कसरी मुक्त गराउँने भन्नेमा एमाले गम्भीर रहेको उहाँले बताउनुभयो ।

उहाँले पहिचानवादीलाई संकेत गर्दै संवैधानिक र संवादको बाटोबाट टुंग्याउनुपर्ने कुरालाई पार्टी र व्यक्तिलाई केन्द्रित गर्न खोजेकोप्रति असन्तुष्टि जनाउनुभयो । शान्तिपूर्ण ढंगले आफ्नो विचार राखेर संवैधानिक बाटोबाट समाधान गर्न ओलीले आग्रह गर्नुभयो । गलत बाटोबाट कोहीपनि सही ठाउँमा नपुग्ने ओलीको भनाई थियो ।