अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको अध्यक्ष ओलीको आरोप
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको आरोप लगाउनु भएको छ ।
मध्यपहाडी यात्राको क्रममा ओखलढुंगाको हर्कपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै गठबन्धनले साम्प्रदायिकताको पक्षलाई भित्रभित्र बढावा दिइरहेको अध्यक्ष ओलीको भनाइ थियो ।
उहाँले देश बनाउन बलियो राष्ट्रिय एकता, समझदारी चाहिने समेत बताउनु भएको हो । पहिचानवादीको आन्दोलनालाई लक्षित गर्दै उहाँले जनताका बीचमा फाटो ल्याउने नभई जनताका बीचमा राष्ट्रिय एकता बनाउनुपर्ने बताउनृु भएको छ ।
राजनीतिक विचारमा मतभेद हुनसक्ने र मतभेदको समाधन गर्ने वैधानिक प्रक्रिया हुने ओलिको भनाई थियो । कानूनी प्रक्रियाबाट, शान्तिपूर्ण बाटोबाट, आवेश–उत्तेजनामा नभई सँगै बसेर छलफलबाट ती कुराहरूको औचित्य पुष्टि गर्नुपर्ने ओलीले बताउनु भएको हो ।
साथै अध्यक्ष ओलीले देशको समस्या समाधान गर्न एकजुट भएर अघि बढ्न आग्रह गर्नु भएको छ । उहाँले मिसन २०८४ एमालेको लागि नभइ देशको लागि भएको जिकिर समेत गर्नु भएको हो ।
विकासको सन्दर्भमा उहाँले एयरपोर्ट, बाटोघाटो निर्माण, खानेपानीको व्यवस्था र कृषिको विकासमा एमालेले काम गरेको दाबी गर्नु भएको छ । साथै अहिले विकास निर्माण ठप्प भएको ओलीले जिकिर गर्नुभएको हो ।