बेग्लाबेग्लै ठगी कार्यमा संलग्न ३ जना पक्राउ

काठमाण्डौ । उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कार्यमा संलग्न ३ जनालाई काठमाण्डौको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार स्थायी घर धनकुटा चौबिसे गाउँपालिका १ भइ हाल काठमाण्डौ बाफल बस्ने ३४ वर्षीय लक्ष्मण श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठले विवेक पाटकलाई दुबईमा वैदेशिक रोजगारीमा पठाउने भनी एक लाख ९५ हजार रुपियाँ ठगी गरेका थिए । पीडितबाट पटक–पटक गरी सो रकम लिइ सम्पर्कविहिन बनेका उनलाई काठमाण्डौ नयाँ बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, प्रहरीले सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममार्फत रकम ठगी गर्ने कार्यमा सङ्लग्न दुई जनालाई पक्राउ गरेको छ । प्रवक्ता रेगमीका अनुसार फेसबुक पेजहरुमा आईफोन मोबाइलहरु सस्तोमा बिक्रीमा राखी निवेदकहरुसँग अनलाइनमा कुराकानी गरी अग्रिम दश प्रतिशत दिएपछि बाँकी रकम किस्तामा तिर्न मिल्छ भनी झुट्टा विज्ञापन राखेर पीडितको रकम ठगी गर्ने गरेको पाइएको छ ।

विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खातामा पैसा जम्मा गर्न लगाइ ठगी गर्ने स्थायी घर पर्सा भएका ३३ वर्षीय अफताब आलम र महोत्तरीका २७ वर्षीय विनय शाहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।