पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको घुइँचो

काठमाण्डौ ।  हरेक वर्ष मंसिर कृष्णपक्षको चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ ।

हिजो रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरेका हुन् । शतबीज छर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरु पशुपतिनाथमा आएका छन् । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा शतबीज छर्छन् ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

बाला चतुर्दशीको अवसरमा पशुपति पुग्ने भक्तजनका लागि पशुपति क्षेत्रमा हिजो बिहानैदेखि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वंयसेवकलगायत खटिएका थिए ।