भ्याट फिर्ताको माग गर्दै व्यवसायीद्वारा आलु र प्याजको कारोबार बन्द
काठमाण्डौ । व्यवसायीले आलु र सुकेको प्याजमा लगाएको भ्याट (मूल्य अभिवृद्धि कर) को विरोध गर्दै आलु र प्याजको आपूर्ति र कारोबार बन्द गरेका छन् । हिजोदेखि भ्याट फिर्ता लिनुपर्ने माग गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति तथा कारोबार बन्द गरेका हुन् ।
व्यापारीको विरोधका कारण काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आलु र प्याजको स्टल खाली हुन थालेका छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आलु र सुकेको प्याजको मूल्य सूचीसमेत राखेको छैन । व्यापारीले आलु र प्याजको कारोबार ठप्प पारेपछि किसान र उपभोक्ता मर्कामा परेका छन् ।
किसान र व्यवसायीले सरकारले स्वदेशी कृषि उपजमा समेत भ्याट लगाएको भन्दै काठमाण्डौ उपत्यकासहित देशभरका ठूला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री वितरणमा रोक लगाएका हुन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार केही दिनअघिदेखि नै आलु र प्याजको कारोबार कम हुँदै गएको थियो ।