काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्म, पानी पर्ने सम्भावनाभने कम

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्म छ ।

पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको मौसमविद् गंगा मानन्धरले जानकारी दिनुभयो । तर, तत्काल पानी पर्ने सम्भावना नरहेको उहाँको भनाई छ ।

उहाँका अनुसार छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव धेरैजसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा परेको छ । यही प्रणालीका कारण कोशी प्रदेशका एक दुई ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ ।

अन्य क्षेत्रमा भने मौसम धुम्मिए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

आज दिउँसो पनि मौसम पुरै खुल्ने सम्भावना छैन । केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अझै केही दिन मौसम यस्तै रहने अनुमान छ ।

मौसम धुम्म भएकाले तापक्रम भने खासै घटेको छैन । बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम भने २० देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।