नेपालमा जलवायु परिवर्तनको प्रभाव अत्याधिक रहेको राष्ट्रपति पौडेलको भनाइ
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरी प्रभावित क्षेत्रका मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौती रहेको बताउनुभएको छ ।
मंगलबार ललितपुरमा इसिमोड स्थापनाको ४० औँ वार्षिकोत्सव समारोहमा नव निर्मित भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा वर्षेनी बाढीले तहसनहस बनाउने बताउनुभयो । उहाँले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी पुगेको जिकिर गर्नुभयो ।
उहाँले नेपाल जस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शुन्य सरह योगदान गरेपनि जलवायु परिवर्तनको प्रभाव अत्याधिक रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल लगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरु रहेको बताउनुभयो । उहाँले अहिलेको विश्व मानव सिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदुषणका कारणले संकटमा रहेको पनि बताउनु भयो ।
सदस्य राष्ट्रहरुले जलवायु परिवर्तनजन्य समस्या समाधान गर्न एकजुट भएर सहकार्य गर्न र मुद्दा अन्तर्राष्ट्रिय स्तरमा एकमत भइ उठान गर्न समेत राष्ट्रपति पौडेलले आह्वान गर्नुभयो ।
उहाँले आगामी दिनमा अहिले देखिएका महत्वपूर्ण मुद्दाहरुलाई समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले इसिमोडलाई हिन्दुकुश हिमाली क्षेत्रबाट वातावरणीय सेवा प्राप्त गर्ने र यसको प्रभावक्षेत्रमा रहेका झन्डै २ अर्ब नागरिक तथा सामुद्रिक तटका देशहरूलाईसमेत साथ लिइ थप सहकार्य गर्नु उपयुक्त हुने सुझाव दिनुभयो ।