एमालेको कार्यक्षमता देखेर विरोधी आत्तिए : एमाले अध्यक्ष ओली

काठमाण्डौ । एमालेको कार्यक्षमता देखेर विरोधीहरू आत्तिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।

आज मंगलबार बिहान झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सल्यानमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै ओलीले एमालेको पालामा देशमा सुशासन कायम भएको बताउनुभयो ।

साथै ओलीले नेकपा एमालेको शासनकालमा देशमा विकासको गति अघि बढेको बताउनु भएको हो ।एमालेले सरकार छाडेको अढाई वर्षमा राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा देश धेरै नराम्रो गरी ओरालो लागेको ओलीले बताउनुभयो । आज देशको विकास ठप्प भएको आलीले सुनाउनुभयो ।

अहिले जनतामा निराशा बढ्दै गएको ओलीले टिप्पणी गर्नुभयो । देश अगाडि बढ्नु पर्नेमा विनाश तर्फ धकेल्ने काम गरिएको उहाँले बताउनुभयो । विश्व तीव्र आर्थिक विकास तर्फ अघि बढिरहेको बेला नेपाल भने ओरालो लागेको उहाँको टिप्पणी छ ।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते आरम्भ भएको यात्राको आज छैटौँ दिन हो । यात्रा २१ औँ दिनको दिन पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुँदै छ । मध्य पहाडको विकासको अवस्था, चुनौती र सम्भावना पहिचान गर्न एमालेले सो यात्रा आयोजना गरेको हो । पहाडलाई विकास र समृद्धिको नमुना कसरी बनाउन सकिन्छ भन्ने विषय खोजी गर्न यात्रा आयोजना गरिएको एमालेले जनाएको छ ।