इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको ज्यान गयो

एजेन्सी । इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको ज्यान गएको छ ।

मारापी क्षेत्रमा भएको विस्फोटपछि त्यसको मुख नजिकै ११ पदयात्री मृत फेला परेका उद्धारकर्ताहरूले जानकारी दिएका बीबीसीले जनाएको छ । यो घटनामा १२ जना हराइरहेका छन् ।

ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेकामा बाँकीको उद्धार गरिसकेको इन्डोनेसियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इन्डोनेसियामा रहेका एक सय २७ वटा सक्रिय ज्वालामुखीमध्ये मारापी पर्वतमा विस्फोट भएको हो ।

विस्फोट हुँदा झन्डै तीन किलोमिटर माथिसम्म खरानी र धुँवाको मुस्लो उठेको बीबीसील जनाएको छ ।

दुई हजार आठ सय ९१ मिटर अग्लो मारापी पर्वत इन्डोनेसियाको सुदूरपश्चिमको सुमात्रा टापुमा रहेको छ ।