एमालेको मध्यपहाडी लोकमार्ग पदयात्रा : आज डडेलधुरा र डोटीमा सभा
काठमाण्डौ । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ विशेष अभियानअन्तर्गत आज डडेलधुरा र डोटीमा सभा गर्दैछ ।
अभियानको दोस्रो दिन एमालेले डडेलधुराको बसपार्क र डोटीको सिलगढीमा सन्देश सभा गर्न लागेको हो ।
डडेलधुराको सन्देश सभा अगाडि जिल्लाको सबैभन्दा माथिल्लो भाग अमरगढी जाने एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दले जनाकारी दिनुभयो । आज बिहान १०ः०० बजे अमरगढी जाने, त्यसपछि बसपार्कमा सन्देश सभा गरेर डोटीको यात्रामा निस्कने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाटोमा स्थानीय सर्वसाधारण, शिक्षक, विद्यार्थी, सरोकारवाला पक्ष लगायतसँग छलफल अन्तरक्रिया हुनेछ । दिउँसो डोटीको सिलगढीमा सभाको आयोजना हुनेछ । त्यसपछि नेताहरू आज दिपायलमा बास बस्ने सचिव चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार शनिवार बिहान अछाम जाने तय भएको छ ।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० किलोमिटरको यात्रा हिँड्ने जानकारी दिनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले डडेलधुरादेखि डोटीसम्म ७० किलोमिटर दूरी हिँड्ने जानकारी दिनुभएको हो ।
बिहीबार अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा झन्डा फहराएर अभियानको उद्घाटन गर्नुभएको थियो ।
एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा सुरु गरेको हो । एमालेले एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राका क्रममा जनताको गुनासो पनि सुन्ने भएको छ ।