त्रिविले स्नातकोत्तरमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ ।
यसअघि यी दुवै विषयमा स्नातकोत्तर तह पढ्नका लागि स्नातक तहमा पनि यही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले नेपाली र अङ्ग्रेजी विषयको अध्ययनका लागि मापदण्ड परिमार्जन गरेको हो । त्रिविका रजिस्ट्रा प्रा. डा. पेशल दाहालले यी दुवै विषय प्रयोगात्मक नभएर साहित्यिक भएकाले स्नातकोत्तर पढ्दा तल्लो तहमा जुनसुकै विषय भए पनि पढ्न पाउने बताउनुभयो ।
त्रिवि नेपाली विभागका प्रमुख प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलले त्रिवि वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न पाउनेछन् ।
त्रिवि अङ्ग्रेजी विभागका प्रमुख प्रा. डा. जीवलाल सापकोटाका अनुसार कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेको विद्यार्थीले अङ्ग्रेजीमा स्नात्तकोत्तर तहमा पढ्न पाउने भएको बताउनुभयो ।
मापदण्डअनुसार त्रिविबाट मान्यता प्राप्त कुनै पनि विश्वविद्यालयबाट न्यूनतम एक सय पूर्णाङ्क वा त्यस सरह अङ्ग्रेजीसहित हुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्ने छ ।
यस्तै अङ्ग्रेजी मातृभाषा भएका देशका कुनै पनि विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्ने उल्लेख छ ।