एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ’समृद्धिका लागि सङ्कल्प यात्रा’ आजबाट प्रारम्भ हुँदै

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आजबाट सुरु हुँदै छ ।

गत कात्तिक २२ गते बसेको पार्टीको सचिवालय बैठकको निर्णय अनुसार आज बिहान ८ः०० बजे बैतडीको झुलाघाटबाट अभियानको आरम्भ हुनेछ । अभियानको सुरूवात बैतडीको झुलाघाटमा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराएर थालनी गर्नुहुने छ। झुलाघाट–चिवाभन्ज्याङ सङ्कल्प यात्राका पार्टीका अध्यक्ष ओलीसहित एमालेका प्रमुख नेताहरूको टोली बैतडी पुग्नुभएको छ ।

आज बिहान ८ः०० बजे झन्डोत्तोलन गरिसकेपछि ११ः०० बजे गोठलापानी बजारमा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका लागि पार्टीका १ सय बढी केन्द्रीय नेताहरू बैतडी पुग्नुभएको पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पालले बताउनुभयो । बैतडीबाट सुरु गरिने सङ्कल्प यात्रा ३ हप्तापछि पाँचथर जिल्लाको चिवाभन्ज्याङ पुगेर सम्पन्न गरिनेछ । उक्त यात्रामा पार्टीको प्रमुख नेताहरूका साथै जन वर्गीय सङ्गठनका अध्यक्षहरू सहभागी रहनुभएको छ ।

पार्टी नेताहरूको स्वागतमा बैतडीको अनारखोलीबाट पाटनसम्म मोटरसाइकल ¥याली निकालिएको छ भने बैतडी बजारलाई श्रृंगारिएको छ भने ओलीले सम्बोधन गर्ने कार्यक्रममा २० हजार व्यक्तिहरूको उपस्थित हुने एमाले नेताहरूले बताएका छन् । नेकपा एमालेले विशेष महत्वका रूपमा सङ्कल्प यात्राको केन्द्रबिन्दु बैतडीको झुलाघाटलाई रोजेको जनाएको छ । बैतडीको झुलाघाटबाटै समृद्धिको बिगुल फुकिने एमालेले जनाएको छ । देशको अधिकांश भूभाग ओगटेको मध्यपहाडी क्षेत्र रहेको र यसको सुरुवाती बिन्दु झुलाघाट नै रहेकाले यसले थुप्रै सम्भावनालाई पहिल्याउने एमाले पोलिटब्युरो सदस्य राजेन्द्र रावलले बताउनुभयो ।

जलस्रोतको भण्डार, जैविक विविधताको खानी र बढी जनसङ्ख्या बसोबास रहेको मध्यपहाडी क्षेत्र नै भएकाले समृद्धिको आधार नै मध्यपहाडी क्षेत्रमा रहेको सङ्केत गर्ने एमालेका निवर्तमान सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले बताउनुभयो । समृद्धिको बलियो आधार नै पहाडी क्षेत्रमा रहेकाले एमालेले सङ्कल्प यात्रा पहाड केन्द्रित गरेको भण्डारीले बताउनुभयो ।

पुष्पलाल अर्थात् मध्यपहाडी लोकमार्ग देशको मेरुदण्ड रहेको बताउँदै एमाले केन्द्रीय सदस्य लीलाधर भट्टले यो लोकमार्गसँग देशेको आर्थिक, सामाजिक, सांस्कृतिक महत्त्व झल्किने बताउनुभयो । मध्यपहाडी लोकमार्गको आसपासमा बसाइसराइ लगायतका समस्याहरू बढेकाले यहाँका समस्या नजिकबाट बुझ्न सकिने राजनीतिक चेतनाको विकास हुने उहाँले बताउनुभयो । बैतडीबाट सुरु हुन गइरहेको यो सङ्कल्प यात्राले देशमा नै नयाँ सन्देश प्रवाह गर्ने एमाले बैतडीका नेताहरूले बताएका छन् ।