त्रिविले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ ।

प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको यो पदक यस वर्षदेखि वितरण नगरिने भएको हो । त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेस्टर प्रणालीअनुसार सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिनुभयो । कुलपति पदक नौ वटै सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिँदै आइएको थियो । पदकमा तीन तोला सुनसहित र प्रमाणपत्र हुने गरेको उहाँको भनाइ थियो ।

दीक्षान्त समारोहमा उपकुलपति पदक भने प्रदान गरिने जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उपकुलपति पदक स्नातक तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिने छ । उपकुलपति पदकमा एक तोला सुन र प्रमाणपत्र हुन्छ ।

त्रिविको ४९ औँ दीक्षान्त समारोह यही पुस २ गते दशरथ रङ्गशालामा हुने भएको छ । त्रिविका रजिस्ट्रार प्रा. डा. पेशल दाहालले स्नातकोत्तर तहमा सबै विषयमा ग्रेडिङ पद्दति लागू भइसकेकाले सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि कुलपति पदकका लागि सिफारिस गर्न नसकिएको बताउनुभयो । दाहालले विश्वमा नै ग्रेडिङ पद्धति लागू भइसकेको अवस्थामा नेपालमा पनि लागू गरिएको बताउनुभयो । उहाँले बिस्तारै स्नातक तहमा पनि ग्रेडिङ पद्दति लागू हुने बताउनुभयो ।