त्रिविमा अब जुनसुकै विषयबाट स्नातक गरेकाले स्नातकोत्तरमा नेपाली विषय पढ्न पाउने

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले नेपाली बिषय स्नातकोत्तर तहको प्रवेश योग्यता सम्बन्धमा नयाँ योग्यता निर्धारण गरेको छ ।

त्रिविले जारी गरेको एक सूचना अनुसार जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले जुनसुकै विषयबाट स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न दिने निर्णय गरेको हो ।

त्रिविबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्नेछ । त्रिवि नेपाली विषय केन्द्रीय विभागका विभागीय प्रमुख तथा नेपाली विषय स्थायी समितिका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले नेपाली भाषा पढ्न अब कुनै रोकटोक नहुने बताउनु भएको छ ।

अहिलेसम्म स्नातक तहमा नेपाली विषय पढेकाले मात्रै स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने व्यवस्था छ ।

 

t