आज साउन १५ अर्थात खिर खाने दिन
काठमाण्डौ । आज साउन १५ अर्थात खीर खाने दिन । असार १५ गते दहीच्यूरा र साउन १५ मा खिर खाने नेपाली परम्परा रहि आएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो ।
साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ । रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर छ । झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ ।
हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको जनविश्वास छ ।
त्यसैत, साउन महिनामा एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गरेर दूधमा बनेको परिकार खाने गर्छन् । चामल, साबुदाना, सेवई, मकै, गाजर लगायतको खिर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ ।
चामलमा कार्बोहाइडे«ड पाइन्छ भने दूध क्याल्सियम र प्रोटिनको राम्रो स्रोत हो । चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ । त्यसैगरी, नरम, चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बच्चा, वृद्ध, बिरामी सबैलाई उपयुक्त हुन्छ । गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सकिन्छ । दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।
बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।