केपी ओली कप : गण्डकी प्रदेशको विजयी शुरुवात
काठमाण्डौ । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ । आज शुक्रवार भएको खेलमा गण्डकीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ४ विकेटले हरायो ।
एपीएफले दिएको १ सय २ रनको लक्ष्य गण्डकीले २ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । गण्डकीका मुस्कान थापाले २५ र दिनेश बुढामगरले २४ रन बनाए । बलिङतर्फ एपीएफका अविनाश बोहराले २ विकेट लिए ।
यसअघि पोखरा रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ १८ ओभर ४ बलमा १ सय १ रन बनाउँदा अल आउट भयो । एपीएफका कप्तान प्रदीप ऐरीले सर्वाधिक २० रन बनाए । बलिङतर्फ गण्डकीका विपिन खत्री, अमृत गुरुङ, चन्द्र पौडेल र कमल परियारले समान २ विकेट लिए ।
प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।