राष्ट्रिय मानव अधिकार आयोगद्वारा घृणायुक्त अभिव्यक्ति बन्द गर्न र अनावश्यक बल प्रयोग नगर्न आग्रह

काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले घृणायुक्त अभिव्यक्ति बन्द गर्न र अनावश्यक बल प्रयोग नगर्न आग्रह गरेको छ ।

साथै आयोगले काठमाण्डौमा भएको प्रदर्शन र सामाजिक सञ्जालमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आज (शुक्रवार) विज्ञप्ति निकालेर घृणायुक्त अभिव्यक्ति बन्द गर्न र अनावश्यक बल प्रयोग नगर्न आग्रह गरेको छ ।

काठमाण्डौमा राष्ट्रिय युवा सङ्घ नेपाल र ’राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ का नामबाट व्यवसायी दुर्गा प्रसाईं समूहबाट हिजो बिहीवार प्रदर्शन भएको थियो । आयोगले आज प्रसाईं पक्षबाट प्रदर्शन गर्ने भनिएको तीनकुने र प्रसाईंको भक्तपुरमा रहेको निवास क्षेत्रको अनुगमनसमेत गरेको छ ।

तीनकुनेमा प्रदर्शनका लागि भेला भएकालाई सुरक्षाकर्मीले पक्राउ गरी प्रदर्शनमा रोक लगाएको अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ ।