केपी ओली टी–२० कप : लगातार दोस्रो जितसहित बाग्मती सेमिफाइनलमा
काठमाण्डौ । लगातार दोस्रो जितसहित बाग्मती केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।
आज शुक्रवार भएको खेलमा बाग्मतीले कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको हो । बाग्मतीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको कर्णाली १७ ओभर ३ बलमा ९९ रन बनाउँदा अल आउट भयो । कर्णालीका अर्जुन घर्तीले २४ र कप्तान रविन्द्र शाहीले २० रन बनाए । बलिङतर्फ बाग्मतीका कप्तान सन्दीप लामिछानेले ४ र दिपेश श्रेष्ठले २ विकेट लिए ।
यसअघि पोखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेको बाग्मतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनायो । बाग्मतीका रित गौतमले ८२ र ईशान पाण्डेले ७० रन बनाए । बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए ।
हिजो भएको खेलमा बाग्मतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ’रातो’ टोलीलाई १ सय ९ रनले हराएको थियो । बाग्मती समूह ’ए’ का दुवै खेल जित्दै सेमिफाइनलमा पुगेको हो ।
हिजोदेखि शुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।