मौसमी कामदारको रूपमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नदिइएको श्रम मन्त्रालयको भनाई

काठमाण्डौ । मौसमी कामदारको रूपमा वैदेशिक रोजगारीमा श्रमिक पठाउन श्रम स्वीकृति नदिइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ ।

पछिल्लो समय मौसमी कामदारको रूपमा विभिन्न देशमा पठाउने प्रलोभन देखाइ ठगी भएको पाइएको भन्दै मन्त्रालयले मौसमी कामदारको रूपमा कुनै पनि देशमा जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नदिइएको प्रस्ट पारेको हो ।

मन्त्रालयले मौसमी कामदारको रूपमा जान कोही कसैलाई पनि पैसा नबुझाउन र कोही कसैले यस्तो प्रलोभन देखाएमा खबर गर्नसमेत अनुरोध गरेको छ ।  दक्षिण कोरिया लगायतका देशमा मौसमी कामदारको रूपमा पठाउने भन्दै पछिल्लो समय रकम उठाउने र एजेण्टहरु फरार हुने क्रम बढ्दो छ ।

यस्तै वैदेशिक रोजगारीमा जान विभागबाट जारी श्रम स्वीकृति बाहेक अन्य कुनै कागजातमा वैदेशिक रोजगारीमा कुनै पनि देश नजान पनि मन्त्रालयले अनुरोध गरेको छ ।