प्रधानमन्त्री प्रचण्ड राजावादी हुनसक्ने एमाले नेता महेश बस्नेतको आरोप

काठमाण्डौ । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजावादी हुनसक्ने आरोप लगाउनुभएको छ । तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनको क्रममा बोल्दै गणतन्त्रमाथि प्रश्न उठेपछि त्यसको प्रतिवाद गर्नको लागि आफूहरू सडकमा आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो केपी ओलीलाई गणतन्त्रवादी होइनन् राजावादी हुन् भन्ने प्रचार गरिन्थ्यो । आज केपी कमरेड र उहाँको जनसंगठनहरुले गणतन्त्रमाथि प्रश्न उठेको बेलामा सबैभन्दा पहिला प्रश्न उठाउनेका विरुद्ध अगाडि आएका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्र भनेको नेपाली समाजले लामो समयदेखि ल्याएको व्यवस्था हो । योमाथि आक्रमण हुँदा त्यसको प्रतिरक्षामा सबैभन्दा पहिला एमाले हुन्छ । अब प्रचण्ड किन आउनुभएन ? शेरबहादुर देउवा किन बोल्नुभएन ?’
उहाँले अहिले गणतन्त्रमाथि खतरा नभएको जिकिर गर्दै प्रश्न मात्रै उठाइएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘हिंसा लम्ब्याउन प्रचण्डजी राजावादी भइदिन पनि सक्नुहुन्छ । हिजो उहाँको पार्टीको महासचिव देव गुरुङले त्यही खालको अभिव्यक्ति दिनुभएको थियो ।’

उहाँले युवा सङ्घको प्रदर्शन शान्तिपूर्ण रहने पनि दाबी गर्नुभयो । नेपाल प्रहरीसँग समन्वयमा कार्यक्रम गरेको हुँदा सरकारले लगाएको निषेधाज्ञा पनि नतोड्ने उहाँको भनाई छ ।