प्रमुख ३ दलबीच प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सहमति

काठमाण्डौ । प्रमुख तीन दलका शीर्ष नेताहरू प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज (आइतवार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सहमति जुटेको हो ।

सहमतिलगत्तै पर्सि (मङ्गलवार) दिउँसो ४ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको आचार्यले जानकारी दिनुभयो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि आउँदो २० गते सकिँदैछ । प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि अहिलेसम्म परिषद्को बैठक नै बस्न नसकेको हो ।

शीर्ष नेताहरूको बैठकमा संसदमा रहेको अवरोध हटाउने विषयमा पनि छलफल भएको छ ।  बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागि हुनुहुन्थ्यो ।