१० दिनदेखि सुरुङमा फसेका भारतीय कामदार क्यामेरामा देखिए

एजेन्सी । १० दिनदेखि भत्किएको सुरुङमा फसेका ४१ जना भारतीय कामदारलाई आज (मङ्गलवार) पहिलो पटक क्यामेरामा देखिएको छ ।

उद्धारकर्मीहरूले उनीहरूलाई सुरुङबाट बाहिर निकाल्नका लागि नयाँ बाटो बनाउने प्रयास गरिरहेका छन् । प्रस्तावित मार्गमध्ये एउटा झन्डै आधा किलोमिटर लामो छ ।

सुरुङको एक भाग भत्किएपछि एक्स्काभेटरहरूले गएको कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् ।

निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेशिन बारम्बार बिग्रँदा वायु सेनाले नयाँ उपकरणमा दुई पटक एअरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।

क्यामेरा सुरु हुनुअघि उद्धारकर्मीहरूले रेडियो प्रयोग गरेर भित्रका मानिसहरूसँग कुराकानी गरिरहेका थिए ।