भ्रष्टाचारविरुद्धको लडाइँ सरकार एक्लैले जित्न नसक्ने : प्रधानमन्त्री प्रचण्ड
काठमाण्डौ । आमनागरिकले साथ नदिइकन भ्रष्टाचारविरुद्धको लडाइँ सरकार एक्लैले जित्न नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ ।
आज (आइतवार) काठमाण्डौमा भएको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानमा अहिले नागरिक तहबाट पाएको साथले सरकारको मनोबल बलियो भएकाले थप फाइल छिटै खुल्ने बताउनुभएको हो ।
आमनागरिकले साथ नदिइकन भ्रष्टाचारविरुद्धको यो लडाइँ सरकार एक्लैले जित्न नसक्ने भन्दै उहाँले सरकारले लिएको लक्ष्यमा विजयी हुने गरेर साथ दिन आग्रह गर्नुभयो । साथै उहाँले सरकारले भ्रष्टाचारका फाइल खुलाउँदै जाँदा विभिन्न ठाउँबाट अवरोध आइरहेकाले सरकारलाई समर्थन र साथ आवश्यक रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार नागरिकको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको दाबी गर्नुभयो ।