लोकतन्त्रविरुद्ध ठड्याइएका औँला तल झारिदिन्छौँ : अध्यक्ष ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रकाविरुद्ध उठाइएका औँलो तल झारिदिने बताउनुभएको छ ।
आज (शनिबार) एमाले केन्द्रीय कार्यलय च्यासलमा पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित आयोजित विशेष भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले मङ्सिर ७ गते युवा विद्यार्थीले गर्ने प्रदर्शनमा पार्टीले समर्थन गर्ने बताउनभुयो । अध्यक्ष ओलीले ७ गते शान्तिपूर्ण रूपमा सरकारलाई शक्ति देखाउने पनि बताउनुभएको छ । उहाँले एमालेविरुद्ध अनेकन चक्रव्युह खडा गर्न खोजिएको भन्दै आफूहरू द्वापर युगको अभिमन्यु नभएको तर्कसमेत गर्नुभयो ।
अध्यक्ष ओलीले सरकारलाई पनि चेतावनी दिँदै जनतासँग वैरवभाव नराख्न चेतावनी दिनुभयो । उहाँले मंसिर ७ गते सरकार विरोधी शक्तिको समर्थन गर्नसक्ने भन्दै त्यसविरुद्ध एमालेले जमेर प्रतिवाद गर्ने बताउनुभयो । उहाँले सो दिन सरकार र दक्षिणपन्थी शक्तिहरूलाई थोरै सङ्केत मात्र गर्ने बताउँदै शान्तिपूर्ण राजनीतिकोरूपमा राजनीतिक प्रदर्शन गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले यातना सहेर, अङ्गभङ्ग भएर, जेलनेल सहेर ल्याएको लोकतन्त्र हो यो । बेघरबार भएर, बेहालका अनेक स्थितिहरू झेलेर ल्याएको हो, त्यस कारण लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नहोस् भनेर म चेतावनीको भाषामा भन्न चाहन्छु । लोकतन्त्रको विरुद्ध लड्ने कुरा त छोड्दिऊँ, लोकतन्त्रको विरुद्ध औँलो ठड्यायो भने त्यो औँलो कसरी तल झार्नुपर्छ शान्तिपूर्ण तरिकाले हामी तल झार्दिन्छौँ ।”
युवा विद्यार्थी अगाडि रहेर गरिने सो प्रदर्शनमा निषेधाज्ञा भने नतोड्ने उहाँले बताउनुभयो । सरकारले रुट तोकेमा सोही रुटमा प्रदर्शन गर्न र सबैलाई झन्डा बोकेर प्रदर्शन गर्न पनि उहाँले निर्देशन दिनुभयो ।