सातौँ दक्षिण एसियाली कराते मंसिर १६ गतेदेखि
काठमाण्डौ । नेपाल कराते महासंघको आयोजनामा सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप मंसिर १६ गतेदेखि हुने भएको छ । प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कराते महासंघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव युवराज लामाले जानकारी दिनुभयो ।
नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दुईदिने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतिबन्धमा रहेकाले श्रीलंकाको भने एनओसी टिम सहभागी हुने जनाइएको छ ।
क्याडेट, जुनियर, यू–२१ र सिनियरमा गरी ४ विधामा जम्मा ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने कराते महासंघका महासचिव दावा गुरुङले जानकारी दिनुभयो । क्याडेटमा १२, जुनियरमा १५, यू–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ ।
प्रतियोगितामा जम्मा ३५३ खेलाडीको सहभागिता रहने छ । सबै स्पर्धामा भाग लिने नेपालबाट ६८ खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् ।
अध्यक्ष लामाले यस प्रकारको प्रतियोगिता २५ वर्षपछि आयोजना गर्न लागेको बताउदै प्रतियोगिताले करातेको गरिमा अझ बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्राविधिक रुपमा उक्त प्रतियोगिता बंगलादेशले आयोजना गर्नुपर्नेमा बंगलादेशले प्रस्ताव नै नगरेकाले नेपालले आयोजनाका लागि प्रस्ताव गरेकोमा एसियाली कराते महासंघ (एकेएफ)ले पनि स्वीकृति दिएको उहाँले जानकारी दिनुभयो । एकेएफ र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराते महासंघ (डब्लूकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको कराते महासंघले जनाएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने खेलहरु सञ्चालन गर्न करिब एक करोड १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।