टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौ । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।

टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

पछिल्लो समय नेपालमा सामाजिक सद्भाव बिथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यसतै आज बसेको बैठकले नेपाली क्यालेण्डरमा नेपाल सम्वतलाई पनि विक्रम सम्वत जस्तै गरेर उल्लेख गर्ने निर्णय पनि गरेको छ । नेपाल सम्वतलाई यस अघि नै राष्ट्रिय सम्वतका रुपमा घोषणा भइसकेको छ ।

व्यवहारिक रुपमा कार्यान्वयनमा नआएको भन्दै सरकारले २०८० कात्तिक २८ गतेदेखि सुरु हुने नेपाल सम्वत ११४४ को उपलक्ष्यमा शुभकामना दिँदै विक्रम सम्वत उल्लेख गरिने सरकारी कागजमा नेपाल सम्वत पनि उल्लेख गर्ने निर्णय भएको हो ।