भूकम्प प्रभावितलाई तिहारले छोएन, प्रभावित क्षेत्रमा खाने अन्नको समेत अभाव
एजेन्सी । भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लालाई यस वर्षको तिहारले छोएको छैन । तिहारमा सफासुग्घर र झकिझकाउ बनाउनुपर्ने घर नै भत्किएका छन् । परिवार र आफन्तसँग रमाइलो गर्नुपर्ने बेला मन कुँडिएको छ । तिहारका लागि घर तथा बारीका कान्लामा फूलहरु फुलेका छन् तर पर्वको रौनक छैन ।
कतिपयले आफन्त गुमाएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भैरहेको छ । भूकम्पबाट प्रभावित भएकाहरु खुला चौरमा त्रिपाल र खाद्यान्न कुरिरहेका छन् । खुला चौर र चिसोमा बसिरहेका पीडितहरुले बस्ने घर र खाने अन्न नै नभएका बेला तिहारको कुनै खुसियाली नभएको गुनासो गरेका छन् ।
भूकम्पपछि सरकारले समयमै सबैतिर राहत पु¥याउन सकेन । पुगेको ठाउँमा पनि राहत पर्याप्त छैन । राहत वितरण प्रभावकारी, पारदर्शी र न्यायोचित नहुँदा भूकम्प प्रभावितलाई थप पीडा दिएको छ । अहिले भूकम्प पीडितलाई तत्काल गास बास र कपाससँगै औषधि उपचारको व्यवस्था गर्न आवश्यकता रहेको कर्णाली क्षेत्रका सामाजिक अभियन्तासमेत रहेका प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा नवराज केसीले बताउनुभएको छ ।
उहाँका अनुसार यस्तो बेला राहतमा चाउचाउ बिस्कुट जस्ता पत्रु खाजा भन्दा दाल, चामल, गेडागुडी, अण्डा, गहुँ, आलु जस्ता खाद्यान्न पु¥याउनु पर्छ । यस्तै, चिसोबाट जोगाउन त्रिपालको साटो हिउँ छल्ने टेन्ट वितरण गर्नु पर्छ । यसले उनीहरुलाई स्वस्थ रहन मदत गर्छ । भूकम्पबाट पूर्ण र आंशिक गरी ६२ हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । क्षतिग्रस्त क्षेत्रमा तिहारपछि पुनर्निर्माणको काम थाल्ने सरकारको तयारी छ ।