मुग्लिन–नारायणगढ सडक खण्ड बन्द

काठमाण्डौ । मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकामा रहेको कालीखोला पुल नजिक अविरल वर्षापछि माथिबाट आएको लेदोका कारण सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बाटोमा लेदो थुप्रिएका कारण यस सडक खण्ड भएर चल्ने गाडी रोकिएका जनाएको छ ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटक पटक बन्द हुँदै आएको छ । लेदो पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।
सङ्घीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।