भूकम्पबाट घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुग्यो
काठमाण्डौ । गएको शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुगेको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार जाजरकोट र रुकुम पश्चिममा मात्रै ६१ हजार ३२ घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ ।
जाजरकोट, रुकुम पश्चिम, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्युठान र अछाममा गरी ६१ हजार ९ सय २३ वटा घरमा पूर्ण तथा आंशिक क्षति पुगेको सरकारी तथ्याङ्क छ ।
पूर्ण र आंशिक क्षति भएका दुवैथरी घर बस्न मिल्ने नभएपछि पीडितहरु खुला ठाउँमा पाल टाँगेर बसिरहेका छन् । रुकुम पश्चिममा १६ हजार ५ सय ७० र जाजरकोटमा ९ हजार ७ सय ९४ गरी २६ हजार ३ सय ६४ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । त्यस्तै, जाजरकोटमा २४ हजार ७ सय ७ घर र रुकुम पश्चिममा ९ हजार ९ सय ६१ गरी ३४ हजार ६ सय ६८ घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । भूकम्पले जाजरकोट र रुकुम पश्चिमसहित १३ वटा जिल्लामा क्षति गरेको छ ।
त्यस्तै, १३ वटा सरकारी कार्यालय तथा सार्वजनिक भवनमा क्षति पुगेको छ । भूकम्पबाट एक सय ५३ जनाले ज्यान गुमाएका छन् । तीन सय ६४ जना घाइते भएका छन् । यस्तै, भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी झण्डै दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।