मधेशका मुख्यमन्त्रीको चेतावनी : मागपूरा नगरे चरणबद्ध आन्दोलन गर्ने
काठमाण्डौ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रहरी समायोजनलगायतका माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।
बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री यादवले प्रदेश प्रहरी समायोजन, निजामती कर्मचारी समायोजन, गुठी र वनसम्बन्धी विधेयक र कानून बनेको लामो समय बित्दा पनि कार्यान्वयन नआएको भन्दै तत्काल कार्यान्वयन गरी हस्तान्तरण गर्न प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै ३० दिने समयसीमा दिने बताउनु भएको हो ।
भोलि काठमाडौँस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशका मन्त्री, प्रदेशसभामा रहेका संसदीय दलका नेताहरूको उपस्थितिमा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने मुख्यमन्त्री यादवले बताउनु भएको छ ।
मधेश प्रदेशको शान्ति सुरक्षा तथा सुशासनको अवस्था, प्रदेशको विकास निर्माणको अवस्था, जग्गाजमिन तथा जंगलको अवस्था दयनीय रहेकाले ज्ञापनपत्र बुझाएको ३० दिनभित्र संघीय सरकारले माग पूरा गर्नुपर्ने मुख्यमन्त्री यादवको दावी छ । मुख्यमन्त्री यादवले संघीयता जोगाउन मधेश सरकारले उठाएका माग समयमै सम्बोधन नभए प्रदेशदेखि केन्द्रसम्म आन्दोलन गर्ने बताउनु भएको छ ।