चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी नेपाल भ्रमणमा आउँदै
काठमाण्डौ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत सेक्रेटरी वाङ छुङछेङ आज नेपाल आउँदै हुनुहुन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव उहाँ पाँच दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउन लाग्नुभएको हो ।
उहाँको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुनेछ । वाङले काठमाडौँ उत्रिएपछि आजै दिउँसो २ बजे उपराष्ट्रपति रामसहाय यादवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
चिनियाँ नेता वाङ कात्तिक २४ गते गण्डकी प्रदेशको राजधानी पोखरा जानुहुनेछ । पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग उनको भेटवार्ता गर्नुहुनेछ । सोही साँझ मुख्यमन्त्री पाण्डेले वाङको सम्मानमा रात्रिभोज आयोजना गर्दै हुनुहुन्छ । पोखरामा वाङले चीन–नेपाल सांस्कृतिक आदान–प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।
उहाँ कात्तिक २५ गते काठमाडौँ फर्केपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भेटमा नेपाल र तिब्बतबीच सीमा सुरक्षालगायतका विषयमा छलफल हुनेछ । सोही साँझ वाङ नेतृत्वको टोलीले नै दूतावासका अधिकारीहरू तथा नेपाली शुभेच्छुकहरूका लागि धन्यवाद ज्ञापन गर्ने रात्रिभोज आयोजना गर्दैछ । वाङले कात्तिक २६ गते भक्तपुरमा चिनियाँ सहयोगमा भूकम्पपछि निर्मित संरचनाको अनुगमन गर्नुहुनेछ । त्यसपछि उहाँ श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गर्ने कार्यक्रम छ ।