दुर्गम क्षेत्रमा राहत पुर्याउन चुनौती, राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाँदै
काठमाण्डौ । भूकम्प प्रभावित क्षेत्रमा पालिकाहरुसँग समन्वय गरेर राहत वितरण भइरहेको छ । तर, ग्रामीण क्षेत्रका भूकम्प प्रभावितलाई राहत वितरणमा चुनौती बढेको छ ।
धेरैजसो ग्रामीण क्षेत्रका सडकमा गाडी चलाउन मिल्ने अवस्था छैन । केही सडक भूकम्पका कारण भत्किएका छन् । यसले गर्दा दुर्गम क्षेत्रमा राहत पठाउन कठिनाइ भइरहेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले जानकारी दिनुभयो ।
सडक पुगेका क्षेत्रमा हिजैदेखि राहत वितरण भइरहेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार सम्बन्धित पालिकासँग समन्वय र छलफल गरेर राहत पुर्याउन थालिएको छ । दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत राहत पठाउने तयारी भएको छ । हिजो जुनीचाँदे गाउँपालिकामा हेलिकप्टरमार्फत राहत पठाए पनि अवतरण हुन नसक्दा त्यसै फर्किएको छ । त्यो क्षेत्रमा आज फेरि हेलिकप्टर पठाउने तयारी भएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले जानकारी दिनुभयो ।
यस्तै, भूकम्प प्रभावित रुकुम पश्चिमका नागरिकलाई पनि राहत वितरण भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिनुभयो । राहतमा त्रिपाल, ब्लाङ्केट, केही खाद्यान्न, न्यानो कपडा तथा स्वास्थ्य किट वितरण गर्न थालिएको छ । गएको शुक्रवार राति भूकम्प गएपछि धेरैजसो खुलाचौर, सामुदायिक भवन, विद्यालयमा बसेका छन् । कतिपय चिसो भुँइमा पराल र म्याट ओछ्याएर बसेका छन् । खासगरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीको स्वास्थ्यमा समस्या पर्न थालेको छ । चिसोमा दिनरात बिताउन बाध्य भएका प्रभावितहरुलाई बेलाबेला आइरहने परकम्पले थप त्रासमा पारेको छ ।
यस्तै,राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ । उहाँ अहिले काठमाण्डौबाट विमानमार्फत सुर्खेत जाने र सुर्खेतबाट हेलिकप्टरमा जाजरकोट र रुकुम पश्चिम पुग्ने तयारी छ । राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई भेटेर उनीहरुको अवस्था बुझ्ने उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
यस्तै, राहत वितरण कसरी भइरहेको छ भन्नेबारे पनि उहाँले जनप्रतिनिधिहरुसँग छलफल गर्नुहुनेछ । गएको शुक्रवार राति गएको भूकम्पले जनधनको क्षति गरेपछि राष्ट्रपति पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गर्नुभएको छ ।