विश्व बैंकले नेपाललाई १३ अर्ब २६ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण दिने

काठमाण्डौ । नेपालले विश्व बैंकबाट १३ अर्ब रुपैयाँभन्दा धेरै ऋण लिनका लागि सम्झौतामा हस्ताक्षर गरेको छ ।

अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले एक सय मिलियन अमेरिकी डलर अर्थात् १३ अर्ब २६ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण सहायताका लागि हस्ताक्षर गर्नुभएको छ । यो सम्झौता नेपाल र विश्व बैंकबीच भएको पहिलो डिजिटल हस्ताक्षर हो ।

विश्व बैंकबाट उपलब्ध हुने यस सहुलियतपूर्ण ऋणबाट नेपालको स्वास्थ्य सेवामा वृद्धि, स्वास्थ्य बीमाको पहुँचमा वृद्धि र आपत्कालीन स्वास्थ्य सुदृढीकरणका काम हुनेछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो कार्यक्रम सङ्घीय तहको स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका छनोट गरिएका प्रदेश तथा पालिकासँगको समन्वयमा कार्यान्वयन गर्नेछ । गुणस्तरीय स्वास्थ्य सेवाले मानव पुँजी विकासको आधारशिलाको रूपमा काम गर्दछ । यो सहायताले उच्च गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न सहयोग पुग्ने हस्ताक्षरपछिको विज्ञप्तिमा उल्लेख छ ।

अर्थ मन्त्रालयका सचिव पुष्करले विश्व बैंक नेपालको एक प्रमुख सहयोगी संस्था भएको उल्लेख गर्दै सहुलियतपूर्ण ऋण र अनुदानका लागि धन्यवाद दिनुभयो । यस्तै विश्व बैंकले ३८ लाख ४० हजार अमेरिकी डलर अर्थात् ५० करोड ९३ लाख रुपैयाँ अनुदान दिने भएको छ ।