आइसिसी टि-२० विश्वकप छनोट : ओमानसँग नेपाल ५ रनले पराजित
काठमाण्डौ । जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनाएको हो ।
नेपालका विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाएपनि टोलीलाई जिताउन पर्याप्त रहेन । कुशल भुर्तेलले सर्वाधिक २६ रन बनाए । नेपालले सुरुवात देखीनै लगातार विकेट गुमाएको थियो । आसिफ शेखले ब्यक्तिगत ४ रनमा जीवनदान पाएका थिए । दोस्रो ओभरको चौथो बलमा आसिफको बल मेहरान खानले क्याच छाड्न पुगेका थिए । तर आसिफ अर्को ओभरको पहिलो बलमा बिलाल खानको बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए ।
त्यस्तै, सोमपाल कामीले ९ बलमा १ चौका र १ छक्कासहित १२ रन बनाए । कुशल भुर्तेलले १८ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए । कुशल मल्लले १२ बलमा १० रन बनाए । त्यसपछि नेपाल दबाबमा परेको थियो । कप्तान रोहित पौडेल र सन्दीप जोरा १२–१२ रनमा आउट भए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । ओमानको जितमा जिशान मकसुद २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रनमा आउट भए । तर ओमानको उत्कृष्ट बलिङले उक्त योगफल बचाउन पर्याप्त भयो ।
सोमपाल नेपालमा सन्दीप लामिछाने, करण केसी र अभिनाश बोहरापछि टि२० आईमा ५० औं विकेट पूरा गर्ने चौथो बलर हुन् । सोमपालले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए भने करण केसीले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए ।
योसँगै नेपालले सेमिफाइनलमा भालि समूह ‘बी’ को विजेता र ओमानले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछन् ।