सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल

काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरू बीच भेटवार्ता भएको छ ।

आज साँझ गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार कोशी प्रदेशको सरकार गठनलगायत समसामयिक विषयमा शीर्षनेताहरूबीच अनौपचारिक छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको सहभागिता थियो ।

सर्वोच्च अदालतले कोशी प्रदेशको सरकार गठनको नयाँ प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । सर्वाेच्चको आदेशसँगै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले ७ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरि सक्नु भएको छ ।