संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्ने

काठमाण्डौ । नेपाल भ्रमणमा रहनृुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्नुहुने छ ।

आज (मंगलबार) अपराह्न ४ बजे महासचिव गुटेरेसले नेपालको सङ्घीय संसदको दुबै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने बताउनु भएको हो ।

उहाँका अनुसार बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि रहेको छ । गुटेरेसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने प्रवक्ता गिरीले बताउनु भएको छ ।

प्रवक्ता गिरीले महासचिव गुटेरेसको सम्बोधनलाई संसद बैठकमै तत्कालै अनुवाद गर्नसक्ने अवस्था नरहेको भन्दै वैकल्पिक व्यवस्था के गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल भइरहेको पनि जानकारी दिनु भएको छ ।
उहाँले महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद सचिवालयले नियमित बैठकहरुको जस्तै अभिलेख राख्ने पनि बताउनु भएको हो ।