मुगु सामूहिक हत्या प्रकरणमा प्रहरीलाई महत्त्वपूर्ण प्रमाण फेला
काठमाण्डौ । मुगुको मन्दु गाउँमा एकै परिवारको चारजनाको हत्या प्रकरणमा प्रहरीले आफ्नो अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ ।
कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपरको स्थानको अनुसन्धानमा छन् । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्त्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको हो ।
मृतक श्रीदेवी बोहोरा छोराछोरीसहित यही कात्तिक ७ गते नै दशैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । उनका ११ वर्षीय छोरा मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको शव घरभित्रै फेला परेको थियो । उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो । माइतीबाट उनी ८ गते बेलुका घर फर्किएकोमा सोही राती सामूहिक हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ ।
प्रहरी नायब उपरीक्षक थापाकाअनुसार हत्या गरिएका चारै जनाको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ । आज नै चारैजनाको शव परीक्षण हुने सम्भावना रहेको उहाँको भनाइ छ ।
मृतकका श्रीमान् दीपक बोहोरा वैदेशिक रोजगारीमा कतार रहे पनि घरमा श्रीमतीसहित छोराछोरीको हत्या भएको खबर पाएपछि शुक्रबार राती काठमाडौँ विमानस्थलमा ओर्लेर आज मुगु पुग्नुभएको थियो । हत्याको अनुसन्धान गर्न नेपाल प्रहरीको विशेष अनुसन्धान टोली परिचालित छ ।