राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा, शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्नुहुने

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ । गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्नुभएको हो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमण गर्न लाग्नुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ ।
महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँको कार्यालयमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

यस्तै, उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि उहाँले ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नुहुनेछ । प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्मानमा आज बेलुका सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

भ्रमणका क्रममा भोलि उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । मङ्गलवार दिउँसो ४ बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।