महासचिव गुटेरेस र कतारका राजाको भ्रमणले नेपालको प्रतिष्ठा अभिवृद्धि हुने प्रधानमन्त्री दाहालको विश्वास

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।

दशैँ, तिहार, नेपाल सम्वत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपालीको आवश्यकता सम्बोधन गर्न महासचिव गुटेरेसको भ्रमणबाट महत्वपूर्ण सहयोग मिल्ने विश्व व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्र सङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । महासचिवको भ्रमणलगत्तै कतारका राजा पनि नेपाल भ्रमणमा आउन लागेको जानकारी दिँदै उहाँले नेपालको कुटनीतिक सफलताको परिणामस्वरूप उच्चस्तरीय भ्रमण हुन लागेको बताउनुभयो ।

चाडपर्वमा हुने चियापान कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्न मात्रै नभई देशको राष्ट्रिय राजनीतिलाई पनि स्थिरतातर्फ लैजान सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । देशलाई सहमति र समझदारीको बाटोमा लैजाने तथा नागरिकको अपेक्षाअनुसार विकास निर्माण र समृद्धिलाई अघि बढाउन चियापानले कुनै न कुनै रूपले सहयोग गर्दै आएको उहाँले दाबी गर्नुभयो ।

आफूले प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरूका बीचमा समझदारी बनाउन प्रयास गर्दै आएको उहाँको भनाइ छ । देशमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरूमाथि प्रश्न उठाउने गरिएको उल्लेख गर्दै उहाँले सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता तथा कार्यकर्तामा शुभकामना व्यक्त गर्न गर्नुभयो । चियापान संस्कृति बीपी कोइराला जीवितै हुँदा उहाँले नै सुरु गर्नुभएको स्मरण गर्दै उहाँले आपसी एकता र सद्भाव वृद्धि गर्न चियापान संस्कृतिले भूमिका खेल्दै आएको बताउनुभयो ।