२० दिनको नवजात शिशु आफ्नै बाबुद्वारा बन्धक, उद्धारमा खटिएका प्रहरीमाथि चक्कु प्रहार
बाँके । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते हुनुभएको छ ।
कोहलपुर नगरपालिका–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डीएसपीमाथि थापाले चक्कुले प्रहार गरेका थिए । डीएसपी तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीले जानकारी दिनुभयो ।
प्रवक्ता डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए । डीएसपी तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि थापाले उहाँमाथि नै चक्कु प्रहार गरेका थिए ।
त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । गए राती झन्डै ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक अवस्था ठिक नभएको बताउनुभएको छ ।
प्रतिकृया दिनुहोस