गणतन्त्रले जनतामा निराशा र क्रोध बढाएको राजेन्द्र लिङ्देनको दाबी

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजालाई गाली गरेर अब पनि सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्न आग्रह गर्नुभएको छ । उहाँले गणतन्त्रले जनतामा निराशा र क्रोध बढाएको दाबी गर्नुभएको छ ।

आज (बिहीबार) प्रवासी नेपाली एकता समाज (पानस) अधिवेशनका लागि अमेरिका जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जनताको एकमात्र आशा राजसंस्था भएको बताउनुभएको हो । टीकाको दिन शीतल निवास र निर्मल निवासको भिडको तुलना गर्दै उहाँले निर्मल निवासको लामले गणतन्त्रप्रतिको जनताको निराशाको वास्तविकतालाई देखाएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीले चाडपर्व सकिएसँगै जनदबावका कार्यक्रमहरु अघि सार्ने बताउनुभयो । उहाँले जनआन्दोलनका लागि पार्टीले तयारीलाई तिब्र बनाएको बताउनुभयो । उहाँले परिवर्तन ल्याएँ, परिवर्तनको संवाहक हुँ भन्ने दलहरुले राम्रो गरेर देखाउन नसकेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले दशैं, तिहार र छठ सकिनासाथ केन्द्रिय कार्यकारिणी समितिको बैठक बसेर जनदवावका कार्यक्रम तय हुने बताउनुभएको छ ।