एसीसी यू– १९ प्रिमियर कपको उपाधि जितेर नेपाली टोली स्वदेश फर्कियो
काठमाण्डौ । मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेर नेपाली किक्रेट टोली स्वदेश फर्केको छ ।
फाइनलमा यूएईलाई हराउँदै जित हासिल गरेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनीहरुलाई विमानस्थलमा क्यानका पदाधिकारीहरुले फुलमाला र खादाले स्वागत गरेका थिए ।
मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको बलियो स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले २ विकेटको क्षतिमा ५२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल लामो समय अवरुद्ध भएको थियो ।
वर्षा रोकिएपछि डिएल मेथड अनुसार यूएईलाई २७ ओभरमा १९८ रनको परिमार्जित लक्ष्य दिइएको थियो । तर, यूएई १७८ रनमा अलआउट भएको छ । नेपालका अलराउन्डर आकाश त्रिपाठीले महत्त्वपूर्ण चार विकेट लिएपछि यूएई लक्ष्यसम्म पुग्न नसकेको हो । यूएईका ध्रुव परासले ५९ रन बनाएका थिए । उनको विकेटसँगै यूएई कमजोर बन्न पुग्यो।
यसअघि नेपालका लागि कप्तान देव खनालले शानदार शतक बनाए । उनी ९२ बलमा १०० रन बनाएर आउट भएका थिए । उनले ओपनर अर्जुन कुमालसँग गरेको शतकीय साझेदारीले नेपाललाई बलियो स्थितिमा पुर्याएको थियो ।