एनआरएनए महाधिवेशन : असन्तुष्ट पक्षले गरे छुट्टै समितिको घोषणा

काठमाण्डौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ महाधिवेशनबाट राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा भएको छ ।

असन्तुष्ट पक्षले बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै समितिको घोषणा गरेको हो । उनीहरुले शर्मा नेतृत्वको समिति नै आधिकारिक भएको दाबी गरेका छन् । यसअघि महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी अध्यक्ष रहेको समितिले भने हिजो नै कार्यभार सम्हालिसकेको छ । केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक पनि बसेको थियो ।

कार्यभार सम्हाल्नुअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो । तर हिजो बेलुका ललितपुरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठलगायतले ११औँ महाधिवेशनबाट भएको नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै धाँधलीबाट भएको नेतृत्वलाई अस्वीकार गर्ने बताएका थिए । त्यस लगत्तै समानान्तर समितिको घोषणा गरेका हुन् ।