विद्यार्थीलाई व्यवहारिक र किसानलाई प्राविधिक ज्ञानको आवश्यक छ : अध्यक्ष ओली

काठमाण्डौ । विद्यार्थीहरुमा सैद्धान्तिक ज्ञानको थुप्रो हुने तर व्यवहारिक ज्ञानको भण्डार रित्तो हुँदा त्यसलाई कृषीको उत्पादकत्व बढाउन नसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।
झापाको गौरादहमा आज कृषी क्याम्पसको उद्घाटन गर्दै अध्यक्ष ओलीले विद्यार्थीलाई व्यवहारिक ज्ञान र किसानलाई प्राविधिक ज्ञान दिनुपर्ने बताउनुभएको हो ।

यसैगरी किसानहरु व्यवहारिक ज्ञानमा पोक्त भए पनि सैद्धान्तिक ज्ञानको अभावका कारण परम्परागत खेती किसानीलाई निरन्तरता दिनु परेको बताउनुभएको छ । झापाको उर्वर भूमीमा देशैभरीका विद्यार्थीहरुले सैद्धान्तिक ज्ञान मात्र होइन कृषीको व्यवबहारिक ज्ञान समेत ग्रहण गर्न सक्ने बताउनुभयो । उर्वरा जमिन भएको नेपालमा टमाटर,खुसार्नी जस्ता कृषी उपजहरुमा भारतको भर पर्नु दुखदायी भएको अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले गौरादहमा सञ्चालित त्रिभूवन विश्वविद्यालयको आंगिक क्याम्पस गौरादह कृषी क्याम्पसको भवन निर्माणको उद्घाटन गर्नुभएको हो । बिएस्सीएजी पढाइ हुने यो क्याम्पस अध्यक्ष ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला नै सम्बन्धनको प्रक्रिया अघि बढाइएको थियो ।