मध्यावधि निर्वाचन खर्चिलो हुने भएकाले कांग्रेसको विद्रोही पक्षलाई साथ दियौँ : अध्यक्ष ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई साथ दिइएको बताउनुभएको छ ।
आज (आइतबार) प्युठानको विजवार जुम्रीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशीमा कांग्रेसमा आएको विद्रोहले गठबन्धनलाई धक्का दिएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले मध्यावधिमा जान तयार भए पनि, एमालेलाई मध्यावधिले फाइदा हुने भए पनि चुनावका लागि हुने देशको ठूलो खर्च रोक्न, मध्यावधिमा जान नदिन कांग्रेसको विद्रोहलाई समर्थन गरेको प्रष्ट पार्नुभयो । मध्यावधिमा जाँदा देशको आर्थिक अवस्थाले नधान्ने भएकाले सुझबुझ गरेर नै कांग्रेसलाई सरकार बनाउन सहयोग गरेको बताउनुभयो ।
उहाँले केन्द्र र प्रदेशमा सत्ताका लागि भएको अपवित्र गठबन्धनले सबैतिर संघीयताप्रति वितृष्णा जगाएको पनि बताउनुभयो ।
अध्यक्ष ओलीले अब एमाले सुदृढ भएको र गठबन्धनको पक्षमा नरहेको बताउँदै २०८४ को निर्वाचनमा ५१ प्रतिशत वडादेखि संसदसम्म ल्याउनेगरी अभियानमा लाग्न आग्रह गर्नुभयो । एमालेविरुद्ध घेराबन्दी हुँदा पनि नेकपा एमालेले देश बनाउँछ भन्ने विश्वासका साथ देशभरबाट साथ समर्थन पाएर धेरै मत पाएर पहिलो दल बनेपनि सरकार बनाउन बहुमत नभएकाले अहिलेको अवस्था आएको उहाँको भनाइ छ ।
केन्द्रमा ३२ सिट रहेको माओवादीका पछि ठुलो दल कांग्रेस लागेको भन्दै उहाँले कोशीमा पनि ८ सिटका पछि लाग्नुपर्छ भनेर त्यहाँका सांसदहरूले विद्रोह गरेको बताउनुभयो । उहाँले कोशीमा मध्यावधि हुने अवस्था सिर्जना भएपछि जोसुकैलाई सहयोग गरेर भए पनि मध्यावधिबाट एमालेले बचाएको बताउनुभयो ।