कोशीमा नवनियुक्त मुख्यमन्त्री कार्कीसहित अरु २ जना मन्त्रीले शपथ लिए
काठमाण्डौ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले दुईजना मन्त्री नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङसँग पद तथा गोपनीयताको शपथ लिनुअघि कार्कीले दुईजना मन्त्री नियुक्त गर्नुभएको हो ।
कांग्रेसका सांसद शम्शेर राई र एमालेका संसदीय दलका उपनेता रामबहादुर मगरलाई मन्त्री नियुक्त गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । दुवैजना मन्त्री इलामका हुनुहुन्छ । मुख्यमन्त्री कार्कीसहित दुवैजना मन्त्रीले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ पनि लिनुभएको छ ।
कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सहित ४७ जना प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले केदार कार्कीलाई हिजो (शनिबार) बिहान मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएपछि उहाँलाई गठबन्धन दलहरूले पनि समर्थन गर्ने बताएका छन् ।
संविधानको धारा १ सय ६८ को उपधारा ३ अन्तर्गत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १ सय ६८ को उपधारा ५ अन्तर्गत सरकार गठनको आह्वान गर्नुभएको थियो । जसअनुसार कार्कीले कांग्रेसमा विद्रोह गरेर एमालेको सहयोगमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको थियो ।
कार्की कोशी प्रदेशको आठौँ मुख्यमन्त्री बन्नुभएको छ । कोशीमा १ वर्षको अवधिमा ५ जना मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

