कोशी प्रदेश : नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ आज, सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने अनुमान
काठमाण्डौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज (आइतबार) दिउँसो पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । आज दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको हो ।
पार्टी र गठबन्धनको निर्णयमा असन्तुष्टि जनाउँदै एमालेसँग मिलेर मुख्यमन्त्री नियुक्त भए पनि असन्तुष्ट समूहका नेता डा. शेखर कोइरालाले गठबन्धनलाई अझ मजबुत बनाउने भन्दै नयाँ सहमति गरेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा काठमाडौँमा छलफल जारी रहेको उहाँका सहयोगी दिवस राजवंशीले बताउनुभयो ।
यसैबिच कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो (शनिबार) अबेर सामाजिक सञ्जालमा स्ट्याटस पोस्ट गरी कोशीमा नेपाली कांग्रेससँग सहकार्य भएको बताउनुभएको छ । सो धारणाअनुसार आज नेकपा एमालेका केही मन्त्रीसहित मुख्यमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने अनुमान गरिएको छ ।