विश्वकप फुटबल २०२६ अन्तर्गत पहिलो चरणको छनोट खेलमा आज नेपाल र लाओस भिड्दै
काठमाण्डौ । विश्वकप फुटबल २०२६ अन्तर्गत पहिलो चरणको छनोट खेलमा आज बिहीबार घरेलु टोली नेपाल र लाओसबीच खेल हुदैँछ । त्रिपुरेश्वरस्थित दशरथ रंशालामा हुने खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले लाओसविरुद्ध खेलका लागि हिजो २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गर्नु भएको हो ।
हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश गरेका छन् ।
होम एण्ड अवेका आधारमा हुने उक्त छनोट खेलमा नेपालले लाओससँग दोस्रो खेल यही असोज ३० गते उसकै मैदानमा खेल्नेछ ।
यस खेलको विजेता टोलीले विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।
राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले लाओसविरुद्धको खेलका लागि आफनो टोलीले राम्रो अभ्यास गरेको बताए । उनले विश्वकप छनोट चरणको खेललाई सफल बनाउन खेलप्रेमिहरुले साथ दिनुपर्ने उल्लेख गरे ।
नेपाली राष्ट्रिय फुटबल टोलीमा
गोलकिपरः किरण चेम्जोङ, दीप कार्की र अभिषेक बराल
डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी र अमृत श्रेष्ठ
मिडफिल्डरः एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु र मनिष डाँगी