नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्रीसहितको टोली इजरायल जाने
काठमाण्डौ । सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको छ ।
आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोलीलाई पठाउने निर्णय भएको सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
नेपाली विद्यार्थी लिन आज राति साढे २ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जाँदैछ । नेपालबाट दुबई ’ट्रान्जिट’ भई जहाज इजरायल पुग्ने छ ।
निगमले गरेको तयारीको आधारमा सबै कुरा यथावत् रहेमा निगमको जहाज भोलि (बिहीबार) बिहान ९ बजे इजरायल पुग्नेछ र त्यहाँबाट ९ बजेर १० मिनेटमा उडेर भोलि राति साढे ८ बजे नेपाल अवतरण गर्ने तालिका छ ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार उद्धार हुन तथा नेपाल फर्कन चाहने तीन सय २४ जना नेपालीले राजदूतावासको अनलाइन रजिस्ट्रेशन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन् । विवरण दिनेमध्ये दुई सय ८८ जनाले नेपाल फर्कन र ३६ जनाले स्थानान्तरण हुन चाहेको बताएका छन् ।
प्यालेस्टाइनी लडाकु समूह हमासले गएको शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परि १० जना नेपालीको ज्यान गएको थियो भने चार जना घाइते भएका छन् । एक जना अझै सम्पर्कविहीन छन् । उनको खोजी भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।