आयोगको नियुक्तिमा दलगत हस्तक्षेप हुँदा अपेक्षाकृत परिणाम आएन : गगन थापा

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज (बुधबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले आयोगको नियुक्तिमा दलगत हस्तक्षेप र भागबन्डा बढी भएको बताउनुभएको हो । उहाँले अदालतसमेत नियुक्तिका विषयमा मुछिएको बताउनुभएको छ । आयोगको नियुक्तिको मापदण्ड नबदलिकन अपेक्षा गरेको परिणाम नआउने उहाँको भनाइ छ ।

महामन्त्री थापाले संवैधानिक परिषद्सम्बन्धी कानुनमा संशोधन गरेर यसको संसदीय सुनुवाइ नभई सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था नथपिकन अपेक्षित परिणाम प्राप्त गर्न नसकिने बताउनुभयो । नीतिगत निर्णय के हो भन्नेबारेमा छुट्टै कानुन बनाइनुपर्ने उहाँको जोड छ ।